सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ‘कमल’ जनश्रमदानको काममा आफैँ खटिनु भएको छ । उहाँ केही दिन अघिदेखि सडकमा दुर्घटना गराउने जोखिम रहेका ढुङ्गा टिप्ने, बाढीले बिगारेको सडक पुननिर्माण गर्ने जस्ता काममा सरिक हुन थाल्नु भएको हो ।
शनिबार बिहान मात्रै नगरप्रमुख बुढाथोकी लगायत सर्वसाधारण पनि हरिवन नगरपालिका–८, फेदीमा कैलाशपुरी खोलाले बगाएको सडक पुननिर्माण गर्न पुगेका थिए ।
हरिवनदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित क्यानेश्वरतर्फ जाने सडक बर्खामा बाढी आएर बिग्रेको बाटोमा नगरप्रमुख बुढाथोकी, नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्ता र स्थानीयवासी समेतको उपस्थितिमा ढुङ्गा बिच्छयाएर बाटो पुननिर्माण गरिएको हो ।
झण्डै ४० मिटर सडक पुननिर्माण गरिएको माओवादी केन्द्र हरिवनका नगर सचिव अर्जुन पन्तले बताउनु भयो । नगरप्रमुख बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलसहित ४० जना भन्दा बढी स्थानीय दुई घण्टा श्रमदानमा खटिनुभएको थियो ।
माओवादी केन्द्र सर्लाहीको संयोजक समेत रहनुभएका नगरप्रमुख बुढाथोकीले अब यसैगरी साप्ताहिक रुपमा जनश्रमदानको काम गर्दै जाने बताउनुभयो ।