काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको प्रकोप अकल्पनीय छ । घर घरमा सिकिस्त बिरामी छन् । यसअघिका डेंगुका प्रकोपभन्दा यो निकै फरक छ । अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ । सबै अस्पताल प्याक छन् । आइसीयू र भेन्टिलेटरमा धेरै संक्रमित छन् । निको भएका संक्रमित निकै कमजोर अवस्थामा छन् । पोस्टकोभिड जस्तै पोस्ट डेंगु सिन्ड्रोम कष्टप्रद छ ।
जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन्, उनीहरू छिटो निको भएका छन् । जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ, उनीहरू खान तथा पिउन डराउँदा सिकिस्त भएका छन् । पारासिटामोलको चर्को अभाव छ । धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन ।
पारासिटामोलको अधिक सेवनले अम्लपित्त बल्झेको छ । कलेजोमा असर गरेको छ । डेंगुमा पारासिटामोलको विकल्प छैन । ज्वरो, टाउको दुखाइ, हातखुट्टा दुखाइ आदिमा अर्को औषधि प्रयोग गर्न मिल्दैन । अहिलेको डेंगुले कतिपय बिरामीलाई हातखुट्टा नचल्नेसम्म भएको छ ।
तपाईं वा आफन्त संक्रमित भएको छ भने यी कुरामा ध्यान दिनुहोला-
१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा, किवी, अनार, जुनार, पाकेको फर्सी, पालुंगो, दुध, जीवनजल, सादा पानी पटक-पटक प्रशस्त खुवाउनुहोला ।
२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला ।
३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला ।
४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला ।
५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला ।
६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला ।
७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे बेहोश हुन सक्छन् । ज्वरो नियन्त्रण नभए एक मिनेट पनि घरमा नराख्नुहोला ।
८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला ।
९. डेंगुमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ । मेवाको पातले डेंगु निको गर्दैन । प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्छ । त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला । मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो ।
१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिन नखानुहोला । खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला ।
११. लक्षण देखिनेबित्तिकै प्लेट्लेट्सको जाँच गर्ने तथा डेंगु परिक्षण गर्नुहोला । दुई दिन बिराएर प्लेट्लेट्सको टेस्ट गर्नुहोला । प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसँग तुरुन्तै सम्पर्क राख्नुहोला ।
१२. डेंगुले धेरै दु:ख दिन्छ तर सितिमिति मार्दैन । मनोबल उच्च राख्नुहोला ।
डेंगु एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन । संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ । तसर्थ लामखुट्टेको टोकाइबाट बच्ने हर प्रयास गर्नुहोला । (डा. पाण्डेको फेसबुकबाट साभार)