बीबीसी । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी परगबाट नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष शनिवारसम्म मात्रै गत वर्षको तुलनामा ४२ गुना बढी र एक दशकअघिको तुलनामा १२५ गुना बढी मानिसहरू डेङ्गीबाट सङ्क्रमित भइसकेका छन् ।
नेपालमा पहिलो पटक वि.सं. २०६१ सालमा पहिचान भएको डेङ्गी प्रकोपकै रूपमा फैलिएको र काठमाण्डू उपत्यकामा सबैभन्दा धेरैलाई बिरामी बनाएको अधिकारीहरूले बताएका छन् ।
रोग नियन्त्रण महाशाखाको विवरण अनुसार यो वर्ष मात्रै अहिलेसम्म झन्डै २३,००० जनामा डेङ्गी पुष्टि भइसकेको छ । तीमध्ये २९ जनाको मृत्यु भएको छ ।
आधाभन्दा धेरै अर्थात् १२,००० भन्दा बिरामी उपत्यकामा तीन जिल्लामा फेला परेको अधिकारीहरूले बताएका छन् । तर सामान्य लक्षण देखिएका केही बिरामी परीक्षण गराउन नगएको हुनसक्ने भएकाले सङ्क्रमितको सङ्ख्या अझ उच्च हुन सक्छ ।
कहाँ पाइन्छ डेङ्गी परीक्षण गर्न ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जय कुमार ठाकुरका अनुसार देशभरिका प्रमुख सरकारी अस्पताल, जिल्ला अस्पताल र केही स्वास्थ्य चौकीमा डेङ्गी परीक्षण गर्ने सुविधा दिइएको छ ।
काठमाण्डू उपत्यकाकाको हकमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतका प्रमुख सरकारी अस्पतालमा डेङ्गीको परीक्षण हुँदै आएको छ ।
सरकारीबाहेक धेरै जसो निजी अस्पतालले पनि डेङ्गी परीक्षण गरिरहेका छन् । तर निजी अस्पतालले सङ्क्रमितहरूको विवरण सरकारलाई उपलब्ध गराउने प्रचलन नरहेका कारण कति निजी अस्पतालमा यसको परीक्षण हुन्छ भन्ने मन्त्रालयलाई पनि थाहा नभएको रोग नियन्त्रण महाशाखाका अधिकारी गोकर्ण दाहालले बताए ।
कति खर्च लाग्छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालहरूलाई डेङ्गी परीक्षणका लागि आवश्यक हुने किट निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस कारण सरकारी अस्पतालमा डेङ्गी परीक्षण गराउँदा शुल्क लाग्दैन । तर निजी अस्पतालहरूले भने डेङ्गी परीक्षणका लागि १,५०० देखि २,००० रुपैयाँ सम्म लिने गरेका छन् ।
के घरमै परीक्षण गर्न सकिन्छ ?
किटको सहायताले परीक्षण गरिने भए पनि यसको परीक्षण कोभिडको जस्तो घरमै गर्न नमिल्ने रोग नियन्त्रण महाशाखाका प्रमुख चुमन लाल दासले बताए ।
“डेङ्गी भए नभएको थाहा पाउन एन्टीजन र एन्टीबडी विधिका तीन किसिमका परीक्षण गर्न सकिन्छ । तर रीयाक्टर ल्याबमा मात्र उपलब्ध हुने भएकाले परीक्षणका लागि अस्पताल नै जानुपर्ने हुन्छ,” ठाकुरले भने ।
कुन अवस्थामा परीक्षण गर्ने ?
विशेषज्ञहरूले ज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र कतिपयलाई बान्ता आउने र पखाला लाग्ने जस्ता लक्षण डेङ्गीको सङ्क्रमणमा देखिने गरेको बताउने गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन लक्षण देखिनेबित्तिकै यसको परीक्षण गराउनुपर्ने र रगतमा प्लेटलेट्सको मात्रा पनि जाँच गराउनु पर्ने बताउँछन् ।
प्लेटलेट्सको मात्रा अत्यधिक घटेको अवस्थामा डेङ्गी सङ्क्रमितलाई अस्पताल भर्ना हुन चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।
सङ्क्रमण फैलन नदिन के गर्ने ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने तथा केही दिन बिराएर सरसफाइ गर्ने गर्दा लामखुट्टे नियन्त्रण गर्न र डेङ्गीको सङ्क्रमणबाट बच्न मद्दत पुग्छ ।
घरवरपर फालिएका टायर तथा ट्यूबहरू, घरकै छतमा नछोपी राखिएका पानीट्याङ्कीमा पनि लामखुट्टेले फुल पार्ने ठाउँ हुनसक्ने ठाकुरले बताए ।
“एउटै लामखुट्टे ३०० देखि ४०० मिटर परसम्म जान सक्छ र उसले एक महिनाको आफ्नो आयुमा ८०० वटासम्म फुल पार्छ तर एक पटकमा एक ठाउँमा १०० देखि १५० मात्र पार्छ,” उनले भने ।
डेङ्गी सार्ने एडीज जातको लामखुट्टे बिहान सूर्योदयको केहीपछि र साँझ सूर्योदयको समयमा अरू समयभन्दा थप सक्रिय हुने विज्ञहरू बताउँछन् ।
डेङ्गी नपुगेको एक मात्र जिल्ला
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार उच्चहिमाली जिल्ला मुस्ताङमा मात्र अहिलेसम्म डेङ्गीका बिरामी भेटिएका छैनन् । यसअघि लामो समयसम्म डेङ्गीमुक्त रहेको हुम्ला जिल्लामा बिहीवार एक सङ्क्रमित फेला परेका थिए ।
“उच्च हिमाली जिल्लाहरूमा पनि सङ्क्रमित भेटिएका छन् तर त्यही जिल्लामा सङ्क्रमित भएका हुन् वा अन्यत्रबाट सङ्क्रमित भएर त्यहाँ पुगेपछि मात्र परीक्षण गराएका हुन् भन्ने खुल्न सकेको छैन,” दाहालले भने ।
मन्त्रालयका प्रवक्ता ठाकुरले जलवायु परिवर्तनको असरका कारण लामखुट्टेहरू यसअघि भन्दा थप उचाइमा भेटिन थालेको बताए । उनले मानिसहरूको बाक्लो आवतजावतका कारण पनि लामखुट्टेको टोकाइका बिरामी कतिपय हिमाली जिल्लाहरूमा भेटिएको हुनसक्ने बताएका छन् ।