काठमाडौं । गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निकालेको छ । सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताए ।
सुवेदीले स्पट फिक्सिङ विवाद सम्बन्धमा भएको छानबिन बारे सोमबार प्रतिवेदन सार्वजनिक गरिने बताए । नेपाल टी-२० लिगमा स्पट फिक्सिङका लागि अप्रोच भएको भन्दै कमेन्टेटर सचिन तिमल्सिनाले प्रतियोगिता बीचमै छाडेका थिए ।
राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि अप्रोच भएको बताएपछि प्रतियोगिता चरम विवादमा परेको थियो ।
प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सका अधिकारी प्रतियोगिताको बीचमै घर फर्किएका थिए ।
प्रतियोगितामा सहभागी सबै ६ टोलीका खेलाडीले पारिश्रमिक पाएका छैनन् । एक खेलाडीका अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले ६ महिनाभित्र पारिश्रमिक उठाई दिने प्रतिबद्धता जनाएको छ ।
टेन्डर प्रकृया विना सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी-२०, ८ वर्षका लागि आयोजना गर्न दिइएपछि सुरुवातदेखि नै यो प्रतियोगिता विवादमा परेको थियो ।
सीआईबीले स्पट फिक्सिङमा संलग्न रहेकाको नाम गोप्य राखेको छ । फिक्सिङको शंकापछि आईसिसीको एन्टि करप्सन कमिटीको टोली पनि नेपाल आइपुगेको थियो ।
प्रतियोगितामा एन्टी करप्सन हेरिरहेको युनिटले उनीहरुलाई स्पट फिक्सिङ बारे रिपोर्ट गरेको थियो । प्रतियोगिता दौरान शंकास्पद व्यवहार गर्नेलाई तत्कालै जिम्मेवारीबाट हटाइएको क्यानको दावी छ ।