काठमाडौं । नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङ प्रकरणमा प्रहरीले २ जना क्रिकेटरलाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरिरहेको अनुसन्धान अन्तर्गत २ जना क्रिकेटरलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नियन्त्रणमा लिएको हो । आदिललाई सप्तरीबाट नियन्त्रणमा लिइएको हो ।
यस्तै, मेहबुबलाई मोरङ, विराटनगरबाट नियन्त्रणमा लिइएको हो । अनुसन्धानमा स्पट फिक्सिङका लागि उनीहरुलाई ‘पहिलो प्रस्ताव’ आएको देखिएको छ । प्रहरी नियन्त्रणमा रहेका आदिल अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा छन् ।
यस्तै, मेहबुब जिल्ला प्रहरी कार्यालय मोरङमा छन् । नेपाल टी-२० क्रिकेट लिगमा स्पट र म्याच फिक्सिङको घटना सार्वजनिक भएपछि सिआइबीले अनुसन्धान थालेको थियो । लिगका नेपाली कमेन्टेटर सचिन तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतियोगितामा फिक्सिङ भइरहेको खुलासा गरेका थिए ।
आफूले क्यानका पदाधिकारीलाई त्यस बारे जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उनले लिगको कमेन्ट्री नै छाडेका थिए । त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि पत्रकार सम्मेलनमै खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए ।