काठमाडौं । नेकपा (एमाले) का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रूपमा चर्चा नगर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै उनले राज्य र कानूनले दोषी करार गरि नसकेको सांसदलाई अपराधीको पगरी नलगाइदिन आग्रह गरेका हुन् ।
उनले देशमा अहिले लक्ष्मी महतोको सर्वत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संज्ञा दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने बताए । उनले कानूनसम्मत महतो दोषी भए पार्टीले नै पक्राउ गर्न सहजीकरण गर्ने बताए ।
नेता महासेठले जनकपुरमा दुई व्यक्ति (रोहितकुमार साह र विष्णुकुमार साह) को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग समेत गरेका छन् । उनले अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाए । उनले वर्तमान सरकारले केही गर्छ कि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गरेका छन् ।