बाजुरा । बाजुरामा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको छ । गाउँ नजिकैको बनमा घाँस काटी रहेको बेला भूकम्पले जमिनै थर्किएपछि माथिबाट ढुङ्गा खसेर गौमुल गाउँपालिका-२ अन्दाजी ३५ वर्षकी जमुनामा रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको छ । योसँगै बाजुराका अधिकांश नयाँ तथा पुराना घरका छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको छ ।
बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिकरुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयवासी बताएका छन् । बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।
भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषी ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ ।