काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसला गरेपछि धरानका मेयर हर्क साम्पाङले सामाजिक सन्जालमा दुई टिप्पणी गरेका छन् । उनले रवि लामिछाने नेपाली नागरिक भएको र यो प्रश्न नेपाली नागरिकलाई सोध्नु पर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’ उनले अर्को एक स्टाटसमा रवि लामिछाने बारे निर्णय सर्वोच्च अदालतले नभएर जन अदालतले गर्नुपर्ने पनि बताएका छन् ।
त्यस्तै उनी भन्छन्- “को हो नागरीक ? के हो नागरीकता ? के हो न्याय र कहाँ छ न्यायलय ? नुन सम्म नहुने देशको हजार थरि कानुन ! कठै मेरो देश… यो देशको माटो राम्रो तर यो माटोमा पैदा भएका अधिकाँश मानिसहरु किरामाकुरा जस्ता ! छि… घीन लाग्छ कहिले कहिँ त !”
त्यसैगरी अर्को स्टाटस लेख्दै भनेका छन्- “न्यायधीशहरुले कतिको ढुङ्गा बोक्न सक्लान् ? सक्लान त ? एक दुई महिना ढुङ्गा बोक्न सघाए पनि हुन्थ्यो ! पाखै भरि “तान्यो… तान्यो…” भन्दै पाइप तान्न सघाए नि हुने नि !”