पूर्णिमाको रात । करिब पौने १२ बजेको हुँदो हो । थिएन भोक पटक्कै, न थियो निन्द्रा । दिनभरीको थकान भुलेर चन्द्रमाको चमक झ्यालबाट एकतमासले नियालिरहेको थिएँ । मलाई चन्द्रमा त्यतिबेला निकै राम्री लागेकी थिइ, ऊ जस्तै ।
उनका नाक, आँखा र ओठ लगेर चन्द्रमाको गोलाकार परिधिमा टाँसेर हेरेँ, ऊ चन्द्रमाजस्ती हो या चन्द्रमा ऊजस्ती हो, छुट्याउन बडो सकस पर्यो । बिछट्टै राम्री छे ऊ ।
चन्द्रमालाई ऊसँग दाजेदेखि हो मलाई औंशी र चन्द्रग्रहण मन पर्न छोडेको । किनकी म आधा, अधुरो देख्नै चाहन्न उनलाई । उनको जीवन हरसम्भव पूर्ण बनाउन चाहन्थेँ, पूर्णिमाको चन्द्रजस्तै । उजेली, हँसिली, रसिली, चमकदार ।
तर किन हुन्थ्यो र चाहेजस्तो, न ऊ मेरो बसमा थिइ न त चन्द्रमा । दुवैलाई टाढाबाट नियाल्नु, कल्पिनु बाहेक मसँग विकल्प थिएनन् । सम्बन्ध जो बिग्रिएको थियो । त्यही बिग्रिएको सम्बन्धले जीवनमा खिलको रुप नलियोस् भनेर नै म हरेक रात ९ बजे नै निदाउने प्रयत्नमा शिरकभित्र छिर्छु । आँखा चिम्म गर्छु उही आउँछे, आँखा खोल्छु उसैको कल्पनामा हराउँछु ।
पर्दैन निन्द्रा अनि झ्यालमा टाउको अड्याएर उही क्षितिज नियाल्छु । उनीप्रति माया कति, रिस कति ? भागबण्डा लगाउँछु । बराबरी निस्कन्छन् दुवै अनि झन् उल्झनमा पर्छु ।
सम्बन्ध मक्किदै जानाका कारणहरु केलाउँदै थिएँ, एक्कासी कसैले ढोकामा जोडले हानेको आवाजले झसंग बनायो । जवान पुरुष नै भएपनि म अलिकति डरपोक छु । हत्पत्त शिरकले मुख छोपेँ ।
फेरि उही आवाज । डराइडराइ ढोका खोलेँ– एक हुल प्रहरी रहेछन् । कताकता फिल्मी सिनजस्तो लागिरहेथ्यो आफ्नो जीवन, गलत आरोपमा हिरोलाई जेल जाक्न लागेजस्तो ! फसाएजस्तो !
मेरो दैलोसम्म कष्ट उठाउनुको कारण सोधेँ – मेरो नाममा कसैले सुसाइड गर्यो अरे ! नाम सोधेँ– उही रैछे, मेरी भूपू माया जो भूपू भएर पनि वर्तमानमा समेत मेरो मुटु कब्जा गरेर बसेकी थिइ । जसलाई चन्द्रमाको चमक र शालीनतासँग हरेक रात दाँज्ने गरेको थिएँ ।
प्रहरी कार्यालयमा लगेर रातैभरी केरकार गरियो । उनले आत्महत्या गर्नुको कारण सोधियो, शंका गरियो मैमाथि– यौन सम्बन्ध लुकाउन तैँले मारेको त होइनस् ? कि अरुलाई मार्न लगाइस् ?
यौन सम्बन्ध ? प्रश्न सुनेरै मलाई लाज भयो । हो पुरुष हुँ, तर पनि लजालु छु । उनको गालामा किस त के हात समातेर हिँड्ने रहर समेत पुरा नगरी छुट्टिएका थियौँ हामी । छुन समेत डराउँथे म ।
मनमा खेल्दै गरेका कुरा छोडेर मुखले बेतुकको जवाफ ओकलेछ– जीवनदेखि हार खाइ, मरि ! शब्दमा पूर्णविराम लाग्नै नपाइ प्रहरीले मेरो गाला रन्कायो । शरीरभरी निलडाम । ज्वरो फुट्यो ।
गुनासोका छाल उठे मनमा, सुनाउन थिइन ऊ साथमा । आफ्नो दिलमा कैद गर्न चाहन्थी, कारागारको कैदी बनाएर गइ । इज्जत र सम्मान दिन्छु भन्थी, बेइज्जती भिराएर गइ, दुनियाँका नजरमा गिराएर गइ । कोहि यति निर्दयी कसरी हुन्छ ? पागलपनको हद हुँदैन के ?
वास्तवमा अन्यायमा त उसले मलाई पारेकी थिइ, कठघरामा ऊ पो उभिनुपर्ने थियो ।
अपराध त उसले गरेकी हो, निर्दोषलाई फसाएर । उसले मरेर पुण्य कमाइ, मैले बाँचेर ठुलो पाप गरेजस्तो अनुभुति भो । प्रश्न थिए एकथान– अरुलाई फसाउन कसैले आफूलाई हानि पुर्याउँछ, आत्महत्या गर्छ भने यसमा बाँच्नेको के दोष ?
कोही मान्नुस् या नमान्नुस्, म कसैको घमण्ड र घामडपनको शिकार भएको हुँ, अपराधी होइन !
जे–जे लागेपनि अब लाग्नुको कुनै अर्थ थिएन । आफू मरेर उसले मलाई कैद जो गराएकी थिइ, जुन ऊ बाँचुन्जेल सम्भवै थिएन । प्रेमका नाममा बलिदान दिएको त थुप्रै कथा पढे–सुनेको थिएँ तर सजाय दिएको यो कानमा परेको थिएन, आज भोगियो ।
सिद्धबाबा, झोले कार्यकर्ता र नेता नबनेकोमा कताकता पश्चाताप लाग्यो । आत्महत्या स्थलमा कुनै प्रमाण फेला पारेन प्रहरीले मविरुद्ध, तिम्रै जाली चिठ्ठीलाई आधार मानेर मलाई कैदी बनायो ।
सुन भूपु, खुशी छ्यौ नि ? हेर न, तिम्रै खुशीमा आनन्द खोज्दाखोज्दै आज यो दिन आइलाग्यो र पनि यो मन तिम्रै खुशी खोजिमा भौँतारिरहन्छ । तिमीले स्वर्गमा खान पायौ कि पाइनौ होला । आफू मरेपछि मलाई तर्साएर बाँच्न दिन्न भन्थ्यौ, यमराजले धर्तीमा छिर्ने गेट खोलिदिए कि दिएनन् होला !
नारीमाथि गिद्धे नजर लाउने पुरुष त्यहाँ हुन्छन् कि हुन्नन् होला त्यहाँ, उनलाई शान्तिले श्वास लिन दिएका छन् कि छैनन् होला । यीनै चिन्ता र जिज्ञासाले चैन लाग्दैन ।
सुन न, म जेलमा परेको खबर सुनेर बा पनि बेस्सरी रोए नि । प्रहरीले जुटाउन अल्छी गरेको प्रमाण मेरा बाले जुटाएर अदालतमा मलाई निर्दोष ठहराएका थिए । तिम्रै खातिर सजाय कबुल गरिदिएँ ।
अब त बुझ्यौ होला नि तिमीप्रतिको मेरो प्रेम र समर्पण ? पहिले पनि म यस्तै थिएँ, यतिकै प्रेम गर्थेँ । तिमीले देखिनौ । जागिर र सम्बन्ध सँगै अघि बढाउन चाहन्थेँ म, प्रत्येक पटक हुने फोनमा ‘समय नदिए ब्रेकअप देऊ’ भनेर जिद्दी गर्यौ तिमीले ।
विवाहपछि तिमीलाई खुशी राख्न, बालाई दुई छाक मिठो खुवाउन आफ्नो भविष्य सोच्नुपथ्र्यो मैले । हेर न, मेरा बालाई दुधको चिया औधी मन पर्छ । तर म जन्मिएदेखि बाले आफू चिया पिउन छोडेर मलाई दिनहुँ दुध पिलाए । पेटभरी चिया पिलाउन त सक्छु होला भन्ने थियो, सकिनँ त्यत्ति पनि ।
उकाली ओराली गर्दा फुटेका बाका कुर्कुचा टाल्ने मन थियो, यो पनि अधुरै रह्यो । झुत्रिएका दौरा कसले फेरिदेला । दमका रोगी छन्, औषधि खर्च कसरी जुटाइरहेका होलान् ।
मलाई इन्जिनियर बनाउन लिएका ऋणले बा को थाप्लो खिइसक्यो होला । साहुले पाटीको बास पो बनाइदिए कि ! स्याँस्याँ गर्दै फेरि मेलापात धाउन विवश बने होलान् । चुहुने छानोले निदाउन दियो कि दिएन होला । खोलो छेउको घर, बगायो कि ! कसलाई सोधुँ उनको खबर, कति धिक्कार्दा पुर्परो !
मेरी आमा बित्दा भर्खरै २१ वर्षका थिए रे बा, मेरै लालनपालनमा कुनै कमि नहोस् भनेर दोस्रो बिहे गरेनन् । दुध नआउने आफ्नै दुधका मुन्टा चुसाएर मलाई सुताउँथे रे । आज यही छोरो जेलमा सडेको देख्दा कति भक्कानिएको हुँदो हो त्यो मन ।
कल्पना र सम्झनामा डुबुल्की मार्दामार्दै आँखा कतिबेला निदाएछन् पत्तै पाइनँ । बिहानीपख जोडको आवाज कानमा ठोक्कियो, सायद कुनै हवल्दारको हुनुपर्छ । मनमा डर भएपनि ढिला लागेका आँखा मरिगए उघ्रिएनन् । अटेरी लागेर होला कसैले पानी छ्यापिदियो, छ्याप्प !
हत्तपत्त अनुहार टक्टकाउन थालेँ, पल्लो कोठाकी बहिनी खित्त हाँसी । ‘सिता कसरी कठघरामा आइ ? त्यति सोझी थिइ, कि कसैले फसायो यसलाई पनि ?’– प्रश्नको ज्वाराभाटा उठ्यो मनमा ।
लोलाएका आँखा प्रमाणको खोजीमा दायाँबायाँ चहारे । चन्द्रमाका ठाउँमा घाम झुल्किएछन्, म उही आफ्नै कोठाको झ्यालमा टाउको अड्याएर पल्टिरहेको रैछु । सिताले छ्यापेकी रैछ पानी !
मेरो झस्काले ऊ हाँसोको फोहोरा छुटाउँदै आफ्नो भान्सा कोठातिर पसी अनि म कल्पनामा ।
विना अपराध, अपराध स्वीकारेर मैले कसरी यत्रो अपराध गरेँ ? धोकेबाजका खुशीका खातिर मैले मेरा बा का खुशीको हत्या गर्ने दुस्साहस कसरी गरेँ ? धत् कस्तो पागलपन मेरो !
साँच्चै यो सपना विपना भयो भने ? लुगलुग काप्यो शरीर, छपक्कै भिज्यो पसिनाले ! डर बढ्यो । मन अमिलो भो, आँखा पिरो । चिन्ताको वजन आकाशियो । झन् घृणा बढ्यो उनीप्रति ।
धुमिल हुने प्रयासमा रहेका उनका यादहरु पुनः ताजा भएर आँखा अगाडी नाच्न थाले । उनको सुसाइड टर्चर अनि ब्रेकअप र ब्रेकअप पछि आफू डिप्रेशनमा पर्नु, झस्किन, डराउनु, आत्तिनु र डरैडरका सपनामा निन्द्रा पुर्याउनुका कारणहरु केलाउन थालेँ..,
जीवनमा पहिलो पटक कसैले मलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको थियो ।
तपाईँ आफैँ अनुमान लगाउनुस् न, के म सजिलै गुमाउन चाहुँला ? रोक्ने प्रयास गरिन होला त मैले ? सम्बन्ध जोगाउन खोजिन होला ? खोजेँ नि । गरेँ नि प्रयास, कति–कति ।
एकपटक उसले भनेकी थिइ – ‘मैले सुसाइड गरेँ भने सुसाइड नोटमा तिमीलाई मेन्सन गर्छु, अनि जेल बस्नु । त्यतिबेला बल्ल बुझ्नेछौ मेरो माया ।’
तिम्रो अँध्यारो, निन्याउरो मुहारमा सकि–नसकि प्रकाश छर्ने प्रयास गर्दैगर्दा अचानक ती मुस्कानसँगै तिम्रा नीरस ओठबाट निस्किएका यी दुई वाक्यले मलाई निकै गलाएको छ, आजसम्म पनि ।
अझ तिमीले निर्दोष मुद्रामा ‘म मरेपछि मलाई बिर्सियौ भने तिमीलाई तर्साउन आउँछु, बाँच्नै दिन्नँ’ भन्दै गर्दा ‘आफ्नो खुशी देख्न चाहने, आफूलाई खुशी राख्न हरदम प्रयास गर्ने’ कसैका लागि कोही यतिसम्म निर्दयी कसरी बन्न सक्छ ? यस्तो पनि प्रेम हुन्छ र ? सोध्ने मन थियो, सोधिनँ त्यसबखत ।
बस्, छुट्टिन नचाहँदा नचाहँदै पनि तिमीप्रतिको लगाव अचानक मर्दै गयो, जसका कारणहरु अनगिन्ती छन् । थाहा छ मलाई, यी कुराहरु भनिरहँदा म निकै ‘चिप’ सुनिन्छु । तर सत्य यही हो– म डरैडरमा बाँचिरहेको छु । तर्सिने भएको छु, आफ्नै छायाँसँग !
मलाई जेलमा सडाउनकै लागि आफू मर्छु भनेर तिमीले भनिरहँदा मेरो हातगोडा कापेका थिए ।
नबिराउनु–नडराउनु भन्छन्, तर आफ्ना लागि बोलिदिने आवाज अशक्त हुँदा नबिराए पनि बेस्सरी डराइँदो रहेछ । यतिसम्म कि मध्येरातमा झ्यालका पर्दा हल्लिँदा पनि कतै तिमीले सुसाइड गर्यौ कि भनेर तर्सिन्छु, तिमीले तर्साउन आउँछु जो भनेकी थियौ ।
खाना समेत भूत–प्रेतलाई नछुट्याइ नखाने समाजमा हुर्किएका कारण आजसम्म पनि म डरपोक छु । होइन, छैन भन्दाभन्दै पनि अन्धविश्वासको कालो छाप मेटाउन हत्तपत्त नसकिने रहेछ ।
साह्रै सन्की छ्यौ तिमी । स–साना कुरामा मोबाइल फुटाउने, भित्तामा खुट्टा बजार्ने तिमी अरुलाई दुःख दिन, रुवाउन जस्तोसुकै कदम चाल्न सक्थ्यौ, आफूलाई हानि पुर्याउन पनि ।
थाहा छ मलाई, यसो भनिरहँदा म निकै निर्दयी सुनिन्छु तर पहिले तिम्रो चित्तको समेत माया लाग्ने मलाई अचेल सुसाइड गर्छु भन्दा पनि तिम्रो जीवनको पटक्कै माया लाग्दैन ।
केवल डर छ मनमा– विना गल्ती कारागार जानुपर्ने ! त्यसैले सपना पनि उस्तो देख्दोरछु !
नेपालको कानुन नै यस्तै छ, तिमीले सुसाइड नोटमा मेरो नाम मात्रै जोडिदियौ भनेपनि सारा अनुसन्धान छोडेर प्रहरी मेरै दैलोमा आइपुग्छ मलाई हत्कडी लगाउन ।
रवि लामिछाने कहाँ हुँ र म, जसलाई बचाउन यो समाज उर्लियोस् । न त म सिद्धबाबा नै हुँ, जसको गल्तीमै पनि ढाकछोप गर्न अनुयायी आइपुगून् । न त म नेताका झोले कार्यकर्ता नै हुँ, जसको कतुर्त छोप्न देशको कानुन बेचियोस् । संविधान फेरियोस् ।
म त एक सामान्य नागरिक न हुँ, गल्ती नगरेपनि विना प्रमाण प्रहरीले थुन्छ । ‘अरुको व्यक्तिगत मामिलामा पर्नु हुँदैन’ भन्दै साथीभाइ सबै पर सरिहाल्छन् । बुढो बा लाई नियम कानून थाहा छैन, अनि कसले बोलिदिनु म निर्दोषको पक्षमा ? नडराएर सुख ?
तिमीलाई नजिकबाट नियालेदेखि नै मलाई लागेको थियो– जीवनसँग पटक्कै खुशी छैनौ तिमी । त्यो प्राण तिमीलाई घाँडो भएको छ । बेखुस छौ यो दुनियाँसँग ।
त्यतिबेला तिमीलाई माया नलागेको तिम्रो जीवनको मलाई असाध्यै माया लागेर आउँथ्यो । एउटा डर र आशंका पनि उतिकै थियो मनमा – ‘यो केटीले सुसाइड पो गर्ने हो कि !’ त्यही डर र आशंकाका गर्भबाट जीवनदेखि हार मानेर ओइलाएको तिम्रो आत्मालाई हराभरा बनाउने प्रणलाई जन्माएको थिएँ मैले । तर माफ गर, हुर्काउन सकिनँ ।
तिमीसँगको फोनैपिच्छे म आफूलाई निकै क्रुर पाउँथेँ । कामको तनाव र तिम्रो सताइले म भित्रभित्रै पिल्सिसकेको थिएँ । हरक्षण तिम्रो सुसाइडको डरमा हुन्थेँ । ‘म अपराधी होइन’ भन्दै एकान्तमा गएर चिच्याउन मन हुन्थ्यो ।
न काममा जाँगर, न खानपानमा । कार्यालयबाट सिधै घरमा गएर मोबाइलमा तिमीले छोडेका सन्देशहरु पढ्नु र आफ्नो मनलाई कुरुप देख्नु अनि तिमीलाई आफ्ना प्रत्येक शब्द दुधे बालकलाई जसरी सम्झाउनु र खुशी बनाउने प्रयास गर्नु मेरो दिनचर्या बनेको थियो ।
महिनामा एक पटक घुम्न जानु, एक प्लेट मःम मा मैले ‘डेट’ टार्नु, सपिङ्ग महलमा लगेर रित्तो हात फर्काउनु, सस्तो सिटमा राखेर मुभि हेराउनु, फोनमा रिचार्ज नहालिदिनु, साइकलको घण्टी बजाउँदै तिमीलाई भेट्न तिम्रो कलेजमा आउनु, यी सबै गतिविधि तिम्रो सपनाको राजकुमारको भन्दा विल्कुल विपरित थियो । त्यसैले मसामु तिमीले आक्रोश पोख्नु पनि जायज थियो, सायद ।
त्यतिबेला तिमी मसँग जीवन बिताउन तयार छ्यौ जस्तो ठानिनँ मैले । मेरै कारणले तिमीलाई दुःखेको हो भने टाढिदिन्छु भन्ने सोचेँ, आखिर तिम्रो खुशी जो चाहन्थेँ । जब पर–पर भएँ अनि सुरु भयो तिम्रो ‘सुसाइड टर्चर’ ।
तिमीलाई थाहा छ ? यहाँ जीवनबारे गुनासो मात्रै गरिरहने, हरेकपल दुःखी हुने, खुशी हुन नजान्नेको साथ हरकोहीले छोडिदिन्छन् । किनकी यहाँ कसैलाई अरुको दुःखमा अल्झिएर दुःखी हुनु नै छैन । सबै आफूलाई खुशी राख्न चाहन्छन्, जिउन चाहन्छन् ।
मै थिएँ जो तिम्रो उदासीपनका विस्कुनमाथि खुशीका किरण छर्न तम्सिएँ ।
सायद खान्दानी परिवारको हुन्थेँ भने म तिम्रा हरेक बालहठ पुरा गर्थेँ । जागिरको पर्वाह नगरी तिमीलाई तिम्रा प्रिय ठाउँहरुमा घुमाउन लान्थेँ । तिमीले लिने प्रत्येक परीक्षामा सयमा सय ल्याएर उत्तिर्ण हुन्थेँ । तिम्रा लागि त्यागी बनिदिन्थेँ !
तर म चरम गरिबीमा छु अहिले । तिम्रा सौख भन्दा बा का आवश्यकता महत्वपूर्ण छन् मेरा लागि । आइसक्रिम, पिज्जाभन्दा बा का लागि औषधि जरुरी छ मेरा लागि । तिमी, बा र कामलाई सँगसँगै लैजान्छु भन्दा तिमीले एक चुन्न भन्यौ । मैले दुई चुनेँ, काम र बा ।
अनि सुन न, तिमी घरीघरी भनिरहन्छ्यौ नि– ‘तिम्रो बुवाले भन्दा पनि कयौँ गुणा म तिमीलाई माया गर्छु । मैले जस्तो माया तिमीलाई न कसैले दिएको थियो न दिनेछ !’ यो भ्रम नपाल्नु मनमा ।
मेरा बा का ममतासँग तिमीले आफ्नो प्रेमको तुलना गर्न पटक्कै सुहाउँदैन । उहाँको जस्तो प्रेम दिन त साहस चाहिन्छ, जुन आफूखुशी आत्महत्या गरेर अरुलाई फसाउँछु भन्ने, अरुलाई दुःख दिएर आफू रमाउन खोज्ने, आफ्ना रहर मेटाउन अरुका रहर मार्नेहरुसँग हुन्छ जस्तो मलाई लाग्दैन ।
साँच्चै तिमी प्यारी छ्यौ प्रिया, प्यारी नै भएर बस न । किन अपमान खोज्दै मेरो दिलको संघारमा आइपुग्छ्यौ बारम्बार ? हेर, म त पानीजस्तै हुँ । संगालेर राखुन्जेल अडिन्छु जहाँतहीँ, पोखेपछि त आउँदिन अञ्जुलीमा पनि ।
मेरा लागि आत्महत्या गर्नुको कुनै औचित्य छैन अब, सक्छौ त बाँचेर देखाऊ !