अचम्म लाग्यो, नेपालको राजनीति वा लाजनीतिको घटनाक्रम र नेतृत्वको अभिभावकीय क्षमता देखेर । लाजनीतिको उत्कृष्ट नमुना विश्लेषण चाहिँ हजार जीव्रा भएका शेषनाग,गीता दर्शन का जन्मदाता भगवान कृष्ण, पूर्वीय धार्मिक तथा सांस्कृतिक आधारका महाग्रन्थहरु महाभारत, १८ पुराणका लेखक तथा वेदका व्याख्याकार महर्षि वेदव्यास समेत असफल हुने लाजनीतिको महापुराण नेपालमा राजनीतिका नाममा रचिएको छ ।
नेपाली जनता आर्थिक सुशासन, भ्रष्टाचार मुक्त समाज, स्वदेशमा नै रोजगारी सिर्जना तथा सामाजिक, आर्थिक र राजनैतिक पारदर्शिताको आशामा थिए । शिक्षा तथा स्वास्थ्य सेवा जनमुखी र सेवादायी होस् । नाफा कमाउने, व्यापार व्यवसाय सञ्चालन गर्ने क्षेत्र धेरै छन् । यसर्थ आधारभूत शिक्षा र स्वास्थ्य सेवा पूर्ण राज्यको दायित्वमा हुनुपर्छ भन्ने आम जनताको माग रहेको छ ।
नेकपा एमाले नै मुलुकको जनताको सबै सकारात्मक रुपान्तरणको एक मात्र विश्वासिलो संस्था हो भन्ने कुरामा नेतृत्व पूर्ण इमानदार थियो भने २०७७ बैशाख ८ देखि २०७८ बैशाख ३० सम्मको राजनीतिक नाममा भएका लाजनीतिका गतिविधि सञ्चालन, एक आपसमा अपराधिक आरोप प्रत्यारोप किन ? आम जनताले प्रश्न गर्न पाउने कि नपाउने ?
नेपालमा प्रचण्ड र उनको नेकपा माओवादी केन्द्र नै नेपालको राजनीतिको सुस्थीरताको मूल समस्या थियो भने कर्णाली प्रदेशका नेकपा एमालेका चार प्रदेश सांसदलाई किन बलीको बोका बनाइयो ? केन्द्रमा जसपा सत्ता शक्तिसंग साथ हुँदा लुम्बिनी प्रदेशमा जसपाको अन्तरकलह किन जन्माइयो र चार सांसदको पदको बली किन चढाइयो ? आम प्रश्न नेपालका राजनीतिक दलहरुलाई गर्न पाइन्छ कि पाइन्न ।
राजनीतिक घटनाक्रममा पछिल्लो समय कुनै निश्चित स्वार्थले नेका एकढिक्का झै देखियो जुन सकारात्मक मान्नुपर्छ तर आन्तरिक लोकतन्त्र साह्रै कमजोर छ, जसलाई छिटो निराकरण नगरे नेकाले पनि भविष्यमा आशा जगाउन कठिन छ ।
माओवादी केन्द्रले १२ जनाभन्दा धेरै संघीय, प्रादेशिक सांसद र दर्जनौं केन्द्रीय स्तरका नेताहरु र हजारौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरी राजनीतिक शक्ति गुमाएको छ । यसरी माओवादी केन्द्र राजनीतिक रुपमा सबैभन्दा क्षतिमा पुगेको छ र भविष्य के हुने अन्यौल बन्दै गएको छ ।
तराई मधेसमा शक्तिशाली मानिएको मुलुकको चौथो शक्ति जसपा सत्ता र शक्तिको चाहमा दुई धारमा विभाजित भएको छ र क्षतविक्षत हुने सङ्केत देखिएको छ । नेकपा एमालेमा कुनै राजनीतिक चरित्र छैन र सत्ता र शक्ति प्राप्त गर्न जे पनि अनदेखा गर्न र जुनसुकै सम्झौता गर्न नेतृत्व तयार छ भन्ने स्पष्ट भएको छ ।
शायद क्याप्टेन रामेश्वर थापा जस्ता व्यवासायीको इनरजी बिना नेता, कार्यकर्ता र समर्थक एक ठाउँमा बसेर निकास दिन सक्दैनन् भन्ने स्पष्ट भएको छ । यस्ता क्याप्टेनहरु जो जो हुनुहुन्छ ती महाशयहरु एक वर्ष अगाडि नेकपा एमालेको मिलन फिल्डमा आएर लेनदेनको मध्यस्थता गरिदिएको भए शायद नेपाल र नेपालीको विश्व रङ्गमञ्चमा यति सार्हो बदनामी र अपराधिक चरित्रका नेताहरुको नाङ्गेझार चित्र सार्वजनिक नहुँदो हो ।
यी सबै घटनाक्रमलाई नियाल्दा नेपाली जनताले आम निर्वाचनमा किन मतदान गर्छन् ? राजनीतिक अपराधलाई आत्मसात गर्न र राजनीतिक स्वाभिमानको आत्महत्या गर्न नै सत्ता र शक्तिको पर्यायवाची हो भने जीवनमा यी अपराधीहरुलाई नै मतदान किन गर्ने ?
निर्वाचन आयोग म जस्ता नागरिकका लागि उम्मेदवार हेरेर , राजनीतिक निष्ठा, आदर्श ठम्याएर मतदान गर्ने वा बदनाम नेतृत्वलाई मतदान गर्दिनँ भन्ने नो भोटको अधिकार चाहियो ?
जुनसुकै आवरणमा राजनीतिक अपराधीहरुबाट मेरो भोट सुरक्षित गर्ने नागरिक अधिकार माग गर्दै, यो वा त्यो राजनीतिक दलको नाममा मागिने मतदानप्रति घृणा जागेको कुरा सार्वजनिक गर्दछु ।