काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम कम गर्न खोप अभियानलाई तीव्रता दिएको छ । यसअघि कोरोनाविरुद्ध पहिलो र दोस्रो खोप लगाइसकेकाहरुका लागि बुस्टर मात्रा खोप लगाउन सुरु गरेको छ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुका लागि सुरु भएको बुस्टर डोज अभियान अहिले पनि जारी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोज मात्रा लगाउन जाँदा कागजातहरु आवश्यक पर्ने जनाएको छ । मन्त्रालयले चाहिने कागजातहरुको विवरण पनि उल्लेख गरेको छ । मन्त्रालयका अनुसार बुस्टर डोज मात्रा लगाउन जाँदा कोरोना भाइरसविरुद्ध दुवै मात्रा खोप लगाएको खोप कार्डसँगै अन्य कागजातहरु आवश्यक पर्नेछ ।
अग्रपंक्तिमा खटिने कर्मचारीको हकमा आफू कार्यरत संस्थाले प्रदान गरेको परिचय पत्र लानुपर्नेछ। यस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएकाको हकमा उपचार गराइरहेको वा औषधि सेवन गरिरहेको अस्पतालको पुर्जा र ६० वर्ष माथिकाको हकमा उमेर खुल्ने परिचय पत्र अनिवार्य लानुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पहिलो र दोस्रो मात्रा कोभिसिल्ड /एस्ट्राजेनेका,मोडर्ना,फाइजर वा भेरो सेल जुन जगाएको भएपनि कोभिशिल्ड/एस्ट्राजेनेका खोपको बुस्टर मात्रा दिन थालेको छ । पहिले जुन खोप लगाएको हो त्यही खोपको बुस्टर मात्रा दिइँदै आएपनि पछिल्ला अध्ययनहरुले फरक फरक खोप लगाउन मिल्ने र उत्तिकै प्रभावकारी हुने देखिएकाले कोभिशिल्ड/एस्ट्राजेनेका खोपको बुस्टर मात्रा दिन थालेको हो ।
लक्षित व्यक्तिहरुले आफ्नो खोप कार्ड र आवश्यक कागजातसहित नजिकैको खोप केन्द्रमा गइ बुस्टर मात्रा खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।