काठमाडौं । कोरोना संक्रमणको जोखिम कायमै छ । अहिले दैनिक ४ हजारको हाराहारीमा संक्रमित देखिएका छन् । संक्रमणदर घटेको देखिएपनि जोखिम अझै नटरेको विज्ञहरुले बताएका छन् । संक्रमित भएको शंका लागेमा के गर्ने त ?
परीक्षण गर्नुहोस् : श्वास फेर्न गाह्रो हुने, खोकि लाग्ने, सिंगान बग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिनेवित्तिकै एन्टिजेन वा पीसीआर परीक्षण गराउनुपर्छ । जसले गर्दा तपाईंलाई कोभिड-१९ संक्रमण वा मौसमी रुघाखोकी के हो सोबारे थाहा पाउन मद्दत पुग्छ ।
अलग्गै बस्नुहोस् : संक्रमित व्यक्तिले मुख नछोपी वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वास्थ मानिसलाई थुक वा सिंगानका छिटा वा र्यालको कणमार्फत् संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले लक्षण देखिने वित्तिकै ५ दिनसम्म होम आइसोलेसनमा बस्नुपर्छ ।
नजिकको सम्पर्कमा आएका मानिसहरुलाई जानकारी दिनुहोस् : तपाइँसँग विगत १४ दिनयता नजिकको सम्पर्कमा आएका मानिसलाई तपाईंलाई संक्रमणको शंका लागेको वा संक्रमण पुष्टि भएको फोन गरेर वा सन्देश पठाएर जानकारी दिनुहोस् र उनीहरुलाई पनि परीक्षण गराउन सल्लाह दिनुहोस् ।
लक्षण बारे ख्याल गर्नुहोस् : सुरुको अवस्थामा कोभिड-१९ संक्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झाडा पखालाको लक्षण हुन्छ । अनि प्रायः यी लक्षणहरु बढ्दै जान्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ ।
आराम गर्नुहोस् र शरीरमा पानीको मात्रा कम हुन नदिनुहोस् : कोरोना संक्रमण भएको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु हो । त्यसैले कोभिड-१९ को उपचार गर्ने भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरु सेवन गर्नुहुँदैन । प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खानुपर्छ ।
खोप लगाएको भए निको भएको एक महिनापछि खोप लिनुहोस् : कोभिड-१९ बाट पनि मानिसहरुमा भाइरसविरुद्ध प्रतिरोधि क्षमता विकास हुन्छ । तर,पनि त्यसलाई सुदृढ बनाउन कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने हुन्छ । तर, संक्रमणमुक्त भएको एक महिनापछि मात्र खोप लगाउनुपर्छ ।