बीबीसी । स्थानीय तहको चुनाव आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वाम गठबन्धन बनाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका एक नेता हरिबोल गजुरेलले बताएका छन् ।
तर यसअघि एकीकरण गरी बनेको नेकपाबाट छुट्टिएको नेकपा (एमाले) सँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको उनले बताए । नेता गजुरेलले अहिलेको सत्ता गठबन्धन “प्रतिगमनलाई रोक्न” बनेको बताउँदै “त्यसको खतरा अझै नटरेकोले एमालेसँग गठबन्धन गर्ने आधार नरहेको” बताउँछन् ।
“अहिलेको आवश्यकता चुनावमा सत्ता गठबन्धनकै निरन्तरता हुनुपर्यो भन्ने हो,” उनले भने । “तालमेलका प्रयासहरू भइरहेका छन् । अध्यक्षमाथि वाम गठबन्धनका लागि अलिकति दबाव छ ।”
उनले सत्तारूढ गठबन्धनको सबैतिर सहकार्य सम्भव नरहेको आफूहरूले बुझेको तर एमालेलाई रोक्न पर्ने ठाउँहरूमा त्यसो गर्न सकिने धारणामा रहेको बताए ।
एमालेले के सोचेको छ ?
प्रमुख प्रतिपक्षी दल एमालेले आफू अहिले राष्ट्रिय स्तरमा कुनै दलसँग गठबन्धन गर्ने मनस्थितिमा नरहेको रहेको जनाएको छ । तर उक्त दलका प्रवक्ता प्रदीप ज्ञवालीले तल्लो तहमा “कहीँ कतै मिल्न सकिने सम्भावना”लाई भने नकारेनन् ।
वाम एकताको सम्भावना बारे सोधिएको प्रश्नमा ज्ञवालीले भने, “आफूलाई वाम भन्ने साथीहरू कांग्रेसलाई बलियो बनाउन लाग्नुभएको छ र कांग्रेसकै छत्रछायामा रमाइरहनुभएको छ भने त्यसमा अहिले कुनै सम्भावना म देख्दिनँ ।”
यसै साताको एमालेको पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकले यस विषयमा थप प्रष्ट पार्ने नेता ज्ञवालीको भनाइ छ ।
एकीकृत समाजवादीको ‘विश्वास’
सत्ताधारी गठबन्धन नै मिलेर चुनावमा जानुपर्छ भन्ने आफूहरूको “दृष्टिकोण मात्र नभएर विश्वास रहेको” नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल बताउँछन् ।
एमालेसँग मिल्न सकिने सम्भावनालाई चाहिँ भुसालले “मनोगत” को सङ्ज्ञा दिए । तर अन्य दलसँगको सहकार्यका विषयमा केन्द्रीय तहबाट नीतिगत निर्णय लिइने उनको भनाइ छ ।
“अहिलेसम्म एमालेहरूको जुन खालको प्रस्तुति छ त्यसले ऊ अरूसँग मिलेर जाने सम्भावना उसैले देखाएको छैन ।” एकीकृत समाजवादीले आफूसँग सत्ताबाहिर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलले समेत सहकार्यबारे छलफल गरिरहेको जनाएको छ ।
कांग्रेस किन मौन
चैत ११ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावी सहकार्यका विषयमा दृष्टिकोण “स्पष्ट” पार्ने उक्त दलका प्रवक्ता प्रकाशशरण महत बताउँछन् । तर स्थानीय तहको हकमा फरकफरक ठाउँका आवश्यकता र अवस्था फरक फरक हुने भन्दै सबै कुरा केन्द्रले निर्देशित गर्न नसक्ने उनको भनाइ छ ।
“हामीले विभिन्न तहमा अधिकार पनि त्यसै गरी प्रत्यायोजन गरेका छौँ । धेरै कुराहरू स्थानीय रूपमै मिलाउनु पर्ने हुन्छ ।” एमालेसँग नमिल्ने सर्तमा कांग्रेस गठबन्धनसँगै चुनावसम्म जान सक्ने भन्ने चर्चा बारे सोधिएको प्रश्नमा प्रवक्ता महतले त्यसरी “कसैसँग कुरा नगरिएको” बताए ।
“बरु वहाँहरू नै कतिपय स्थानीय तहमा एमालेसँग कुरा गरिरहनुभएको जानकारी हामीलाई प्राप्त भइरहेको छ ।” कांग्रेसभित्र चुनावमा मिलेर वा एक्लै जाने भन्ने विषयमा भिन्न भिन्न मत देखिन्छ ।