काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा मंगलबार दशककै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।
साम्बा उपनामले पुकारिने नेपाली राष्ट्रिय टोलीकी गोल मसिन सावित्राले ३४ खेलमा ३८ अन्तर्राष्ट्रिय गोल गरेकी छन् । क्लब फुटबलमा उनले गरेका गोलको लेखाजोखा कसैसँग छैन ।
उनको क्लब सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघसँग पनि । सावित्रा स्वयमलाई पनि आफूले गरेका गोलहरूको तथ्यांक थाहा छैन ।
त्यसैले ढुक्कसँग भन्न सकिन्छ, सावित्रा नेपाली राष्ट्रिय महिला टोलीले पाएको अहिलेसम्मकै सर्वोकृष्ट स्ट्राइकर हुन् । सन् २०१४ देखि २०१९ को बीचमा सावित्रा प्रेरित नेपाली महिला राष्ट्रिय टोलीले ६ पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा गरिसकेको छ ।
यस क्रममा नेपाली महिला टोली दुई पटक साफ च्याम्पियनसिप र दुई पटक दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा हिरो उमेन्स गोल्डकप र नाडेजा कपमा एक/एक पटक फाइनल पुगेको थियो ।
भारतीय लिग आइडब्लुएल मा दुई सिजन खेल्दा दुवै पटक उनले आफ्नो टोलीलाई च्याम्पियन बनाइन भने नेपालमा उनी सम्मिलित एपिएफले सायदै हार सामना गर्नुपरेको होला ।
त्यसैगरी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का पछिल्लो दशकको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष कोभिड महामारीको चपेटामा परेर खेलक्षेत्र गतिविधिसुन्य भएका कारण फरक स्वरूपमा गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा पारसले यस्तो अनुपम सफलता हासिल गरेका हुन् ।
मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको थियो ।
जहाँ अन्य विभिन्न विधाका खेलकर्मीसँगै दशकको उत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षक सम्मानित भएका थिए । मंगलबार प्रज्ञा भवनमा भएको नेपाली खेलकुदकै सबभन्दा ठूलो अवार्ड कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एक छत्र राज गरेका पारस सम्मानित भए ।
उनी यसअघि एक पटक युवा विधासमेत गरी अवार्डमा पाँच पटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका थिए । नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँच बाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्त्वपूर्ण थियो ।
सन् २०१३ मा युएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र टी-२० विश्वकप सम्म पुर्याउँदा सफल नेतृत्व गरेका थिए । सन् २०१८ मा नेपाललाई एकदिवसिय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनु पारस अनि नेपाली क्रिकेटको अनुपम सफलतामा पर्छ ।