काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन् । यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ ।
बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ । भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ ।
‘प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो । छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो । प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ ।
लोसपा नेता डा. सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए । त्यसका लागि लोसपाले आफ्ना सर्तहरु अगाडि सारेको उनले बताए । हो, सरकारमा सहभागी हुने बारे अध्यक्षजी र प्रधानमन्त्रीजीबीच सम्वाद भइरहेको छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।