काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।
नेपाल र भारतबीच पछिल्लो समय सीमा विवादका कारणले गर्दा समस्या भइरहेको छ । दुई मुलुकबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भए पनि अघि बढ्न सकेको छैन ।
सन् २०१४ मा मोदीकै नेपाल भ्रमणका दौरानमा सबैभन्दा बढी विवादमा रहेको कालापानी क्षेत्र र सुस्ता क्षेत्रका लागि वार्ता गर्नको लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको थियो । जसको अहिलेसम्म बैठक बनेको छैन ।
भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक बनाएपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध चिसिएको थियो । केही समयअघि मात्रै भारतीय प्रधानमन्त्री मोदीले उक्त सडक निर्माणमा तीव्रता दिएको बताएका थिए ।