काठमाडौं । धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् ।
तर उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार घटना मंगलबार रातिको हो । एक जनालाई पक्राउ गरेर घटना बारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन ।
आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन् ।