काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा पनि बढाएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाको हकमा सार्वजनिक सवारी र प्रदेशभर लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो ।
प्रदेश सरकारले पेट्रोलसँगै बिजुलीबाट चल्ने ट्याक्सीको समेत भाडा बढाएको हो । प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । प्रदेश सरकारले ० देखि ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँबाट बढाएर २० रुपैयाँ पुर्याएको छ ।
यस्तै, ० देखि १० किलोमिटरसम्मको २३ बाट बढाएर २५ रुपैयाँ, ० देखि १५ किलोमिटरसम्मको भाडा २७ रुपैयाँबाट बढाएर ३० रुपैयाँ, ० देखि २० किलोमिटरसम्मको ३० रुपैयाँबाट बढाएर ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३५ रुपैयाँबाट बढाएर ३८ रुपैयाँ कायम गरिएको छ ।