काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा परेका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरीयता अनुसार दीपेन्द्र अलराउन्डर वरीयताको १० औँ स्थानमा छन् ।
दीपेन्द्रको यो वरीयता नेपाली क्रिकेटरले आईसिसीको वरीयतामा हासिल गरेको सबैभन्दा उच्च स्थान हो । यसअघि यो उपलब्धी नेपाली टोलीका पूर्व कप्तान पारस खड्काको नाममा थियो । पारसले टी २० अलराउन्डर वरीयताको २५ औँ स्थान हासिल गरेका थिए ।
घरेलु मैदानमा सम्पन्न त्रिदेशीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सोही आधारमा वरीयताको शीर्ष १० भित्र अटाएका हुन् । यस्तै, टी २० बलिङ वरीयतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् ।
पछिल्लो हप्ता वरीयताको ३७ औँ स्थानमा रहेका सन्दीप नयाँ वरीयताको ३८ औँ स्थानमा छन् । यस्तै, टी २० बलिङ वरीयताको शीर्ष सयभित्र अटाएका नेपाली टोलीका अर्का बलर अविनास बोहरा वरीयताको ८६ औँ स्थानमा छन् ।
टी २० ब्याटिङ वरीयतामा कुशल भुर्तेल ३६ औँ र दीपेन्द्र ३८ औँ स्थानमा छन् । यस्तै, ब्याटिङ वरीयताको शीर्ष सयभित्र अटाएका आसिफ ९९ औँ स्थानमा छन् । यस्तै, एकदिवसीय वरीयतामा कप्तान सन्दीप लामिछाने ४८ औं स्थानमा छन् ।