एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ ।
युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे । सातौं मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२ औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर खेलको ७६ औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई तीन अंक दिलाए ।
रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो । साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् । जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।
त्यस्तै, चिरपरिचित म्यानचेस्टर सिटीलाई ३–२ अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार वेम्बली रंगशालामा प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीमाथि जित निकाल्दै सात पटकको च्याम्पियन लिभरपुल १० वर्षपछी उपाधी नजिक रहेको छ ।
सन् २०१२ पछि लिभरपुल एफए कपको फाइनलमा प्रवेश गरेको हो । लिभरपुलको जितमा साडियो मानेले दुई तथा इब्राहिम कोनाटले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले गोल फर्काएपनि टोलीले हार टार्न सकेन । लिभरपुलले उपाधिका लागि आइतबार साझ चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासंग खेक्नेछ ।