काठमाडौं । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् ।
गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुयाएको थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर-घरमा पानी वितरण हुनेछ ।
नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो । खानेपानीमन्त्री चौधरीले लामो प्रतीक्षापछि पानी वितरण गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।
मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको सङ्कट निकै कम हुनेछ । खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो ।
त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो । प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर-घरमा वितरण गर्न लागिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।