सुर्खेत । कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबन्डा टुंगाे लगाएकाे छ । यद्यपी सुर्खेत र रुकुमपश्चिमको भागबन्डाको टुंगाे लगाउन भने बाँकी नै छ ।
आठ जिल्लाको विवरण अनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ । डोल्पामा माओवादीले तीन प्रमुख र दुई उपप्रमुख, कांग्रेसले एक प्रमुख र तीन उपप्रमुख र समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पाएको छ ।
जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ । दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ । कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ । माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले तीन प्रमुख र दुई उपप्रमुख पाएको छ ।
मुगुमा माओवादीले प्रमुख/उपप्रमुख एक एक र कांग्रेसले दुई दुई पाएको छ । एकीकृत समाजवादीले पनि एक एक पाएको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले पाँचवटा प्रमुख पाउँदा कांग्रेसले भने तीनवटामा चित्त बुझाएको छ भने समाजवादीले तीनवटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ ।
उपप्रमुख भने माओवादी र कांग्रेसले दुई दुईवटा पाएका छन् । एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस/माओवादीले चार चार प्रमुख पाउँदा समाजवादीले दुईवटा प्रमुख र दुईवटै उपप्रमुखमा चित्त बुझाएको छ ।
माओवादीले उपप्रमुखमा पाँँचवटा पाउँदा कांग्रेसले तीन वटा पाएको छ । जुम्लामा कांग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीनवटा प्रमुख पाएको छ । माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुईवटामा चित्त बुझाएको छ । समाजवादीले जुम्लामा पनि एक एकवटामा चित्त बुझाएको छ ।
कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ । प्रमुख पाँच लिँदा उपप्रमुख चारवटा माओवादीले लिएको छ । कांग्रेसलाई दुई प्रमुख र तीन उपप्रमुख पाएकाे छ । एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ ।