बीबीसी । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एकीकृत सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको सरकारले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार यसपालि पनि निर्वाचनसम्बन्धी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन् ।
त्यसबाहेक स्थानीय चुनावकै लागि भनेर करिब एक लाख म्यादी प्रहरी पनि भर्ना गरिएको मन्त्रालयले जनाएको छ । देशभरि सबै स्थानीय तहमा एकै चरणमा हुन लागेको चुनावमा मतदान गर्ने दिन आउन अब १८ दिन बाँकी छ ।
सुरक्षाकर्मी कसरी परिचालन हुन्छ ?
स्थानीय तहको चुनावका लागि तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटिने गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले बताए ।
“एकसट्ठी हजार नेपाल प्रहरी, २३ हजारको हाराहारीमा सशस्त्र प्रहरी र एक लाख म्यादी प्रहरी छन् । ४०-५० हजार नेपाली सेना खटिनेछन्, तर त्यो आवश्यकता हेरेर हो । तीन लाखको हाराहारीमा हुन्छ,” बीबीसीसँग उनले भने ।
भट्टराईका अनुसार मतदानको ३० दिन अगाडिबाट शुरू भएको सुरक्षाकर्मीको परिचालन विजय जुसुल नसकिँदासम्म निरन्तर रहनेछ ।
“अहिले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाकर्मी पुगिसकेका छन्, प्रत्येक कार्यालयमा पाँच जनाको दरले सशस्त्र प्रहरीको टोली नै पुगिसक्यो,” उनले थपे ।
“मतदान केन्द्र, मतदान स्थलमा चाहिँ वैशाख २५-२६ गतेसम्म पुगिसक्छन् । गस्ती गर्ने घुम्ती टोली त परिचालन भइसकेकै छन् ।” गृह मन्त्रालयका अनुसार मतदान केन्द्रहरूमा तीन तहको सुरक्षा घेरा हुनेछ ।
“पहिलो घेरामा नेपाल प्रहरी हुन्छ, त्यसपछि सशस्त्र प्रहरी अनि नेपाली सेना हुन्छ । नेपाल प्रहरीले सहयोग मागेको खण्डमा पहिला सशस्त्र प्रहरी, त्यसपछि सेनाले सघाउँछ,” सूचना अधिकारी भट्टराईले भने ।
चुनावसम्बन्धी समग्र सुरक्षाको जिम्मेवारी आफूहरूको काँधमा भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी बताउँछन् । “चुनावका बेला सशस्त्र प्रहरी र नेपाली सेनाले काम गर्ने भनेको नेपाल प्रहरीलाई आवश्यक पर्दा थप मद्दत गर्ने मद्दती फौजको रूपमा हो,” बीबीसीसँग उनले भने ।
के कस्ता चुनौती छन् ?
सुरक्षाको दृष्टिकोणले गृह मन्त्रालयले मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीनवटा समूहमा विभाजन गरेको बताइएको छ ।
यद्यपि कुन समूहमा कहाँका के कति मतदान स्थल परेका छन् भन्ने बारे गृह प्रवक्ता पोखरेलले केही बताएनन् । “त्यो चाहिँ सार्वजनिक गर्ने विषय नै होइन ।”
प्रहरी प्रवक्ताका अनुसार अघिल्लो चुनावको तुलनामा यसपालि कतिपय स्थानमा संवेदनशील र अति संवेदनशील स्थानको सङ्ख्या घटबढ भएको छ ।
“कतै बढेको छ भने कतै केही घटेको छ,” सङ्क्षेपमा उनले भने । खुला सिमानाको कारण देखिनसक्ने चुनौतीदेखि दलहरूबीच हुन सक्ने झैझगडासम्मलाई प्रहरीले आफ्नो लागि चुनौतीको रूपमा हेरेको छ ।
भौगोलिक विकटताका कारण कतिपय स्थानमा मतपत्र तथा मतपेटिका ओसारपसारमा समेत चुनौती देखिनसक्ने प्रहरीले जनाएको छ ।
“खुला सिमाना भएकोले अवाञ्छित व्यक्तिहरू प्रवेश गर्नसक्ने चुनौती हुन सक्छ, दलहरूबीच खिचातानी, पोस्टर, पम्पलेट अथवा आचारसंहित उल्लङ्घनलाई लिएर हुनसक्ने झडपले सुरक्षा चुनौती हुन सक्छ,” प्रहरी प्रवक्ता केसीले थपे ।
“यस्ता चुनौतीको सामना गर्न सजगतापूर्वक सुरक्षा व्यवस्था मिलाइएको छ ।” चुनाव हुनुभन्दा ७२ घण्टा पहिलेदेखि नेपाल-भारत सीमानाका बन्द गरिँदै आएको छ ।
मतदाता र मतदान केन्द्र कति ?
वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेका छन् । सात वटा प्रदेशका कुल ७५३ स्थानीय तहमा छवटा महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका छन् ।
आयोगका अनुसार सबै ७५३ स्थानीय तहअन्तर्गत कुल ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । मतदानका लागि आयोगले देशैभरि १० हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकेको छ ।