काठमाडौं । रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।
पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन् ।
उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हस्पिटल स्रोतले जानकारी दिएको संघ महासचिव पाख्रिनले बताए ।
उनी कुवेतमा घरेलु कामदारको रूपमा आए पनि आफ्नो स्पोन्सरबाट रिलिज लिएर लेडिज शैलुनमा काम गरिरहेकी थिइन् । उनी नेपालबाट कति समय अघि कुवेत पुगेकी थिइन् भन्ने खुलेको छैन ।