सर्लाही । सर्लाहीमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान तेलको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको बागमतीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर सप्तरीको राजविराज नगरपालिका–१ की ६० वर्षीया प्रमिलादेवी यादवको मृत्यु भएको हो । उनका २५ वर्षीय छोरा घाइते भएका छन् । दुर्घटना पश्चात दुबै जनालाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा आमाको बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।