काठमाडौं । बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घाेषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।
माग अनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ ।
अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । भारतको बिहार राज्य र इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) मार्केटबाट समेत बिजुली पाउन छाडेपछि औद्योगिक ग्राहकको बिजुली काट्न लागिएको हो । भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ ।
रुस–युक्रेन युद्धका कारण अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ । जसकारण नेपालले त्यहाँबाट बिजुली नै पाउन छाडेको हो । यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन हुँदै आउने गरी आईईएक्स मार्केटमा करिब साढे ४ सय मेगावाट बिजुलीका लागि बोलकबोल गर्न पाइरहेको थियो ।
यसै हप्ता टनकपुर–महेन्द्रनगर प्रसारणबाट थप ५० मेगावाट बिजुली आयातका लागि नेपालले स्वीकृति पाएको छ । यसरी आईईएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भएपनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन ।