रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको मेयरको उम्मेदवारमा नेपाली कांग्रेसका नेता सन्जय काफ्लेले उम्मेदवारी दिएका छन् । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेता काफ्लेले चन्द्रपुर नगरपालिकाको भावी मेयरका लागि उम्मेदवारी दावी गरेका हुन् ।
स्थानीय रुपमा राम्रो राजनीतिक छवी बनाएका काफ्ले युवाहरुमाझ निकै लोकप्रिय नेता हुन् । राजनीतिमा युवाहरुको सक्रिय भुमिका हुनुपर्छ र नेतृत्वमा युवालाई स्थापित गर्नुपर्छ भन्ने अभियानमा लागेका काफ्ले विद्यार्थीकाल देखि नै क्रियाशिल राजनीतिमा लागेका युवा हुन् । स्थानिय निर्वाचनमा केन्द्रित भएर सन्जय काफ्लेसँग गरेको कुराकानीको सम्पादित अंश:
तपाईंको उम्मेदवारी किन ?
मेयरमा मेरो उम्मेदवारी दिनुको मुल उदेश्य भनेको फोहोर व्यवस्थापन, भष्ट्रचार अन्त्य, युवालाई रोजगारी श्रृजना गरि सम्मृद चन्द्रपुर नगर बनाउन मेरो उम्मेदवारी हो । साथै यहाँको विकास, सुशासन, जनचासो र जनअपेक्षाका काम गर्न मेरो उम्मेदवारी हो ।
तपाईको निर्वाचन जित्ने आधार चाहिँ के हो ?
मेरो जित्ने आधार प्रशस्त छ र स्पष्ट पनि छ । जीवनमा इमानदारितापूर्वक जति सकेँ त्यो गरेको छु, वडा कार्यालयमा उत्कृष्ट काम गरेको छु, नगरवासीले देख्नुभएको छ । मसँग एजेन्डा छ, त्यो अनुसारको सपना छ ।
जनताले तपाईंलाई विश्वास गर्ने आधार के हुन् ?
म यहीँ ठाउँमा राजनीतिमा क्रियाशील छु । कुनै नचाहिने काम गरेको छैन । अनैतिक काम गरेका छैन । मेरो धेरै आधार छन् । जनताले विश्वास गरेको मान्छे हुँ । म बौद्धिक, सामाजिक र शैक्षिकरूपमा पनि अब्बल छु । मतदाताले मत दिनुहुन्छ । मैले यहाँको अवस्था बुझेको छु ।
तपाईं यहाँको रहनसहनसँग भिजेको मान्छे, विकासका चुनौतीहरु के–के देख्नुहुन्छ ?
अहिले पुरानो विकासमा थपथाप हुँदै मात्रै आएको छ । केही सय किलोमिटर पिच थपिए, तर वर्खामा हिलो बाटोमा हिड्नु पर्छ, त्यसको उचित व्यवस्था मिलाउनु पर्छ । हाम्रो रौतहट जिल्ला कृषिका लागि एउटा उर्वल भूमिका रुपमा रहेको छ । तर, स्थानिय सरकारले मात्र होइन संघिय सरकारले समयमा कृषकलाई चाहिने मल खादको समेत व्यवस्था गर्न सकेको छैन यस समस्याको समाधान गर्नुपर्ने देखिन्छ ।
शिक्षा क्षेत्रका योजना के छन् ?
चन्द्रपुर नगरका बच्चाले पाउने शिक्षा र काठमाडौंमा रहेका बच्चाले पाउने शिक्षामा फरक छ । त्यसमा समानता ल्याउने योजना छ । स्थानीय आवश्यकताका आधारमा शिक्षामा आमूल परिवर्तन ल्याउने योजना छ । शैक्षिक गुणस्तरमा सुधार ल्याउने योजना छ । म धेरै ठूलो कुरा गर्दिनँ, काम गरेर देखाउँछु ।