काठमाडौं । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको राजनीतिक दलकै नेतृत्वबाट उल्लंघन भएको पाइएको छ । वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आयोगले आचारसंहिता जारी गरेको छ ।
आचारसंहिता पालना गर्नुको सट्टा सरकारका मन्त्रीदेखि राजनीतिक दलका अधिकारीले नै धज्जी उडाएका छन् । आचारसंहिता २०७८ चैत २५ देखि कार्यान्वयनमा आएको हो ।
निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ । यो अवधिमा दलहरुले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्ने हो । दलका नेतादेखि सरकारका मन्त्री आचारसंहिता पालनाप्रति कटिवद्ध छैनन् ।
आचारसंहितामा सरकारको मन्त्री कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने भनिएको छ । तर, आचारसंहिता उल्लघंन गर्दै बिहीबार गृहमन्त्री बालकृष्ण खाँण भरतपुर महानगरमा मेयर पदका उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता गराउन भन्दै चितवन पुगे ।
यस्तै, सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ पनि आचारसंहिताको उल्लंघन गर्दै मेयर विवाद मिलाउन चितवन पुगेका थिए । दलका नेताहरुले निर्वाचन प्रयोजनका लागि सवारी साधन प्रयोग गर्दा निर्वाचन आयोगको अनुमति लिनुपर्ने हुन्छ । निर्वाचन आयोगको अनुमति वेगर दलका नेताहरुले सवारी साधन मनलाग्दी प्रयोग गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बागी मिलाउन भन्दै बुधबार भरतपुर पुगेका थिए । आचारसंहितामा कुनै योजनाको शिलन्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने उल्लेख छ ।
तर, चैत २९ मा सरकारका खानेपानी मन्त्री खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगी मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गरेका थिए । आयोजनाको सुरुङमा पानी पठाएर मन्त्री चौधरीले मेलम्ची खानेपानी आयोजनाको नवौं उद्घाटन गरेका थिए ।